सिगात्सेपछि रेलमार्ग नेपालतिर


हङकङ - हङकङ, तिब्बत स्वायत्त सरकारका प्रमुख लुओ साङ जियङले ल्हास–सिगात्से रेलमार्ग सञ्चालनमा आएलगत्तै नेपालतिर बिस्तार गर्ने बताएका छन्। तिब्बतको सदरमुकाम ल्हासामा मुख्य सचिव लिलामणि पौडेलसँगको भेटवार्तामा लुओले रेलमार्ग केही महिनाभित्रै सिगात्से जोडिने र लगत्तै नेपालतर्फ बिस्तार गर्ने आश्वासन दिएका हुन्। सिगात्सेमा आयोजित नेपाल–तिब्बत ब्यापार मेलामा सहभागी हुने क्रममा मंगलबार ल्हासा पुगेको मुख्य सचिव पौडेलको टोलीले तिब्बत स्वायत्त प्रदेश सरकार प्रमुखसँगको भेटवार्तामा रेलमार्ग काठमाडौं हुँदै लुम्बिनीसम्म विस्तार गर्न आग्रह गरेको थियो। चीनको राजधानी
बेइजिङसँग जोडिएको तिब्बत रेलमार्ग केही महिनाभित्रै ल्हासाबाट सिगात्से पुग्दैछ। 'अहिले सम्भाव्यता अध्ययन भइरहेको छ, सिगात्सेसम्म सञ्चालनमा आएपछि नेपालतिर विस्तार कार्य थाल्छौँ', प्रमुख लुओको जवाफ उद्धृत गर्दै भेटमा सहभागी ल्हासास्थित महावाणिज्यदूत हरि बस्यालले भने। लुओले सामाजिक, आर्थिक विकासको साझा लक्ष्य हासिल गर्न चीनले नेपाललाई 'सार्थक सहयोग गर्ने' प्रतिबद्धता जनाएका छन्। तिब्बत सरकार प्रमुखसँग रेलमार्ग विस्तार गर्न आग्रह गरेका मुख्य सचिव पौडेलले ब्यापार मेला उद्घाटनको क्रममा त्यसलाई खुलारुपमै दोहोर्‍याए। सिगात्सेस्थित चोमोलाङमा प्रदर्शनी केन्द्रमा बिहीबार नेपाल–तिब्बत व्यापार मेला उद्घाटन गर्दै ल्हासाका लागि पूर्व महावाणिज्यदूत समेत रहेका पौडेलले भने, 'आर्थिक तथा सामरिक हिसाबले दुवै देशका लागि महत्त्वपूर्ण रेलमार्ग सिगात्सेबाट नेपालसम्म विस्तार गर्न चीन सरकारलाई अनुरोध गर्छु।' बस्यालका अनुसार द्विपक्षीय व्यापारका लागि आधारभूत संरचना– सुख्खा बन्दरगाह, सडक तथा रेलमार्ग विस्तारमा आर्थिक सहयोग गर्न पौडेलले चीनलाई आग्रह गरेका थिए। अन्तर्राष्ट्रिय र क्षेत्रीय परिस्थितिमा ठूलो परिवर्तन आए पनि नेपाल–चीन सम्बन्ध स्थिर रहेको बताउँदै पौडेलले पूर्वाधार निर्माण, ऊर्जा, पर्यटन र कृषि क्षेत्रमा विदेशी लगानी प्रबर्द्धन गर्न नेपाल सरकारले संस्थागत र प्रक्रियागत सुधार गरिरहेको जानकारी पौडेलले चिनियाँ पक्षलाई दिएका छन्। उद्घाटन समारोहमा बोल्दै तिब्बत स्वायत्त क्षेत्रीय सरकारका कार्यकारी उपप्रमुख डिङ येसियानले लामो समयदेखि एक चीन नीति लिएर तिब्बतको सुरक्षामा सहयोग गरेकोमा नेपाल सरकारलाई धन्यवाद दिए। नेपालको सामाजिक आर्थिक विकासमा सहयोग गर्न चीन सरकार उत्सुक रहेको उनले समारोहमा देाहोर्‍याए। मुख्य सचिव पौडेल र तिब्बत सरकारका उपप्रमुख डिङले संयुक्त रुपमा उद्घाटन गरेको 'चीनको तिब्बत–नेपाल आर्थिक व्यापार मेला'मा नेपालबाट ७० व्यवसायिक कम्पनीसहित दुई सय सहभागी भएका छन्। चीनबाट त्यति नै संख्यामा व्यापारीसहित करिब चार सयले सहभागिता जनाएका छन्। नेपाल र चीनको तिब्बतले संयुक्त आयोजना गरेको यो चौधौंं व्यापार मेला हो। हरेक दुई वर्षमा हुने मेला अघिल्लो वर्ष काठमाडौंमा भएको थियो। भाद्र २४ सम्म चल्ने मेलामा नेपालले हस्तकलाका सामग्री, गार्मेन्ट्स, कार्पेट, पस्मिना, थाङ्का, गहना, जडीबुटी प्रदर्शनमा राखेको छ। मेलाका लागि पाँच करोड बढीका सामग्री भन्सार छुटमा ल्याउने व्यवस्था तिब्बतले मिलाएको थियो। वाणिज्य तथा आपूर्ति सचिव जनार्दन नेपाल, ल्हासास्थित महावाणिज्यदूत बस्याल, सहसचिव जीवराज कोइरालासहित प्रमुख लुओसँग भेटवार्ता गरेका पौडेलले शून्य भन्सार सुविधाको व्यवहारिक कार्यान्वयन गर्न, नेपाली उत्पादनलाई क्वारेन्टाइन र नेपालीलाई तिब्बत प्रवेश खुकुलो बनाउन आग्रह गरेका छन्। शुक्रबार खासा हुँदै मुख्य सचिव पौडेल काठमाडौं फर्किए। Source nagariknews

No comments:

Post a Comment