बेलायतकी गौमाया

लन्डनकी गौमाया
Source: ekantipur/Hello Sukrabar

'आई लाइक सोसल वर्क,' गत वर्ष मिस यूके नेपाल बनेकी गौमाया गुरुङले भनिन्, 'लाइकमात्र हैन नि, सोसल वर्क गर्दै आएकी छु ।' नीलो स्टाइलिस्ट जिन्स फिटिङ पेन्ट तथा टी-सर्टमा सजिएर साथीसँगै गत साता तालनगरीमा भेटिइन् । हो, उनले भनेजस्तै उनी समाज सेवाकै भावना बोकेर यसपटक नेपाल आएकी हुन् । नेपालमा पनि बर्सेनि मिस नेपालदेखि अन्य विभिन्न नाममा बग्रेल्ती सुन्दरी प्रतियोगिता हुँदै आएका छन् । त्यसकै प्रभावमा धेरै नेपाली बसोबास गर्ने यूके, हङकङ जस्ता देशमा नेपालीमाझ पनि सुन्दरी प्रतियोगिता हुँदै आएको छ ।
 

यस्तै प्रतियोगितामा विजेता बनेका एकाध सुन्दरीले मात्रै समाजका लागि नयाँ काम गरेर उदाहरणीय बने । गत वर्ष नेपाली युवतीमाझ भएको मिस नेपाल यूके २०११ की विजेता बनेकी यस्तै एक सुन्दरीमध्येकी हुन्, गौमाया । जसले फरक काम गरेर आफूलाई परिचितमात्र गराइनन् समाजका लागि पनि योगदान दिँदै आएकी छन् ।

उनले ब्युटी कन्टेस्टमा सहभागी हुनुभन्दा अगाडिदेखि नै बेलायतमा समाज सेवा र युवा जनचेतना जोगाउने काममा लाग्दै आएको बताइन् । 'ब्युटी क्राउन लगाएपछि जीवन त्यसले नभएर आफैंले परिवर्तन ल्याउन सक्नुपर्छ,' उनले भनिन्, 'क्राउन जितें भनेर चुपचाप बसेर भविष्य बन्दैन ।'

२० वर्षे गौमाया यसपटक नेपाल आउनुको उद्देश्य असहाय महिला तथा बालबालिका, स्कुल, अस्पताललाई सहयोग गर्नुका साथै युवा पुस्तामा जनचेतना अभियान जोगाउनु मूल रहेछ । माइती नेपालमा ५० हजार रुपैयाँ, तिलगंगा अस्पताललाई १ हजार पाउन्ड बराबरको भौतिक सामग्री, गोरखाको जनज्योति उच्च माविका तीन र चेतना विद्यालयका एक विद्यार्थीलाई छात्रवृत्तिसँगै अन्य थुप्रै स्कुललाई सामग्री प्रदान गरिन् ।

उनकै पहलमा यूकेमा उठेको चार लाख रुपैयाँ सुर्खेतको कोपिला भ्याली स्कुललाई प्रदान भइसकेको छ । यस्तै उनले नेपालका केही जिल्लाका बालबालिकाको केन्द्र डुलेर विभिन्न सहयोग सामग्री पनि प्रदान गरिन् । एभरेस्ट टे्रक अन्तर्गतको कालापत्थरमा १२ दिनको टे्रकिङ पूरा गरेर आएकी गौमायाले भनिन्, 'पर्यटन प्रवर्द्धनको चेतनाका लागि पदयात्रा गरिएको हो ।'

हामीले आफ्नै ठाउँका यस्ता महत्त्वपूर्ण ठाउँको पदयात्रा गरेर देश-विदेशमा प्रचारप्रसार गर्न सके बढीभन्दा बढी पर्यटक नेपाल भित्रिने उनले बताइन् । सुन्दरता र ट्यालेन्ट दुवै भएकी उनलाई मिस यूकेको ताज पहिरिएपछि सिनेमा, म्युजिक भिडियो र यूकेमा सञ्चालित टेलिभिजनका लागि एङकरिङको अफर पनि आयो । ती सब छाडेर उनी अहिले पिछडिएका महिला तथा बालबालिकालाई कसरी सहयोग गर्न सकिन्छ भनेर बेलायतमा युवा समूह बनाएर सहयोग संकलन अभियानमा लागेकी छन् ।

'मलाई पछि परेका असहाय महिला तथा बालबालिकालाई कसरी सहयोग गर्न सकिन्छ भन्नेबारे नै बढी ध्यान जान्छ,' उनले भनिन्, 'त्यसैले अध्ययनबाहेकको समय सहयोग संकलन अभियानमै नै लाग्ने गरेकी छु ।'

बीबीएस अन्तिम वर्षमा अध्ययन गरिरहेकी उनले यो सानै उमेरमा गरेको काम देखेर सबै छक्क पर्छन् । बेलायतमा बस्दै आएकी पोखराकी भिभा गुरुङले समेत यी सुन्दरीको कामको प्रशंसा गरिन् । 'ताज पहिरिएपछि यिनले आफूलाई सामाजिक काममा बढी लगाएकी छिन्, अनलाइन कुराकानीमा भिभाले भनिन्, 'नयाँ सोच र जाँगर भएकी सुन्दरी हुन् ।'

उनी बेलायतमा खुलेका विभिन्न सामाजिक सहयोगी संस्थाले सद्भावना दूत पनि नियुक्त गरेका छन् । यसैले पनि उनमा झनै सामाजिक सेवा गर्ने भावना जागृत भएर आएको रहेछ । गोरखाको विकट कलदुङ चिप्लेटी स्थायी घर भएकी यी सुन्दरी काठमाडौंको हिम्सबाट प्रवेशिका उत्तीर्ण गरेपछि पाँच वर्षअघि अध्ययनका लागि यूके पुगेकी थिइन् ।

बेलायती सेनाका रिटायर्ड लाहुरे बाबुकी एक्ली छोरी उनले टिपिकल नेपाली नाम गौमायामै गर्व गर्छिन् । आधुनिक जमानामा पनि कस्तो पुरानो नाम भनेर उनलाई धेरै सहकर्मीले नभनेका पनि हैनन् । तर उनलाई यसमा गुनासो छैन ।

५ फिट २ इन्च उचाइकी गौमाया विदेश भनेको अन्जान सहर भएकाले अध्ययनपछि नेपालमै र्फकने बताउँछिन् ।

'नेपालमा अझै पनि महिला र पुरुषबीच भेदभाव रहेको पाएँ,' केही गाउँ डुल्ने क्रममा प्रत्यक्ष देखेको अनुभव सुनाउँदै उनले भनिन्, 'एजुकेसनकै कारण यो सब विभेद भएको हो ।' उनले अझै पनि धेरै बालिका शिक्षाको अवसरबाट वञ्चित रहेको बताइन् ।

सन् २०१२ को मिस नेपाल-यूकेको तयारी भइरहेकाले उनी बेलायत पुगेपछि केही समय त्यसमा व्यस्त हुनेछिन् । अघिल्लो वर्षकी विजेता भएका नाताले आफूले सिकेका सीप उनले सहभागीलाई सिकाउने छिन् । उनको भागमा पब्लिक स्पिकिङ परेको छ । पहिलोपटक भएको मिस यूकेमा नविना गुरुङले उपाधि जितेकी थिइन् भने गौमाया दोस्रंो यूके नेपाली सुन्दरी बनेकी हुन् । सुरिलो स्वरकी धनी यी सुन्दरी गीतसमेत गाउँछिन् ।

झन्डै एक महिनाको बिदामा असहाय महिला तथा बालबालिकाको अवस्था बुझ्न र सहयोग गर्न नेपाल आएकी उनी दुई दिन अगाडि बेलायत फर्किइन् ।
Source: ekantipur/Hello Sukrabar
http://ekantipur.com/kantipur/news/news-detail.php?news_id=274910

No comments:

Post a Comment