सरकारको समर्थन फिर्ता हुँदैनः डा. भट्टराई


कास्की/ माओवादी उपाध्यक्ष डा. बाबुराम भट्टराईले सरकारलाई दिएको समर्थन कुनै पनि हालतमा फिर्ता नहुने बताएका छन् ।
माओवादी सरकारबाहिरै बसेर शान्ति र संविधानका लागि सघाएर अघि बढ्ने तर समर्थन फिर्ता लिएर देशलाई अस्थिरतातर्फ धकेल्न तयार नहुनेमा विश्वस्त हुन उनले सबैसित आग्रहसमेत गरे ।

'माओवादीले गृह मन्त्रालयमा अड्को थापेर मन्त्रिपरिषद् विस्तार रोक्यो भन्नु अनावश्यक आरोप मात्र हो,' क्रान्तिकारी पत्रकार संघ मकवानपुरले शनिबार हेटौँडामा गरेको पत्रकार भेटघाटमा उपाध्यक्ष भट्टराईले भने, 'प्रधानमन्त्री छाडेको पार्टीले यो वा त्यो मन्त्री माग्यो भन्नु हजार रुपैयाँ दिनेले एक रुपैयाँ माग्यो भन्नुजस्तै हो ।' उनले प्रधानमन्त्री त्याग गर्ने दलले मन्त्रीमा र्‍याल नकाढ्ने दाबी गरे ।
'राष्ट्रिय संयुक्त सरकारको विकल्प छैन,' उनले भने, 'सबै दल मिले माओवादी सरकारमा जान्छ, नत्र बाहिरै बसेर संविधान निर्माणमा सघाउँछ ।' उनले शान्ति र संविधानका लागि माओवादी सक्रिय हुने र एमालेकै आन्तरिक रडाकोका कारण सरकार गठनमा ढिलाइ भएको आरोप लगाए ।

No comments:

Post a Comment