नक्कली लुम्बिनी बनाउने भारतीय प्रयासमा तुषारापात

बुद्ध भारतमा जन्मिएको देखाउन उत्तर प्रदेशको अलिगढवामा नक्कली लुम्बिनी बनाइरहेको भारतको प्रयास ‘वालुवामा पानी’ सावित हुने भएको छ ।

हालै एक बेलायती बिश्वबिद्यालयले गरेको अनुसन्धानमा कपिलवस्तुको तिलौराकोटमा बुद्धकालीन सहर नै रहेको पत्ता लागेपछि बुद्धलाई आफ्नै पेवा बनाउने भारतीय प्रयास ब्रेक लागेको हो । हजारौँ वर्ष पुराना पुरातात्विक महत्वका संरचना पत्ता लगाउन सक्ने अत्याधुनिक प्रबिधि प्रयोग गरी जहाजबाट गरिएको एक्स-रेले तिलौराकोटमुनि सहर नै रहेको पत्ता लागेको हो । बेलायती विश्वविद्यालय डरहामका विशेषज्ञले हवाईजहाजबाट गरेको अनुसन्धानले तिलौराकोटको भूगर्भमा दरबार, ४ लेनको सडक, दुईतिर घर, सहर र उद्यानसमेत आधा किमि लम्बाइको व्यवस्थित बस्ती रहेको पुष्टि गरेको छ ।


एक महिनाअघि गरिएको अनुसन्धानबाट अहिलेसम्म पनि उपर्युक्त संरचना तिलौराकोटमा विद्यमान रहेको वेलायती टोलीले पत्ता लगाएको हो । उत्खनन नगरी बाहिरबाट हेर्दा नै यति धेरै संरचना पत्ता लागेकाले उत्खनन गर्दा अरू प्रशस्तै ऐतिहासिक सामग्री पाइने आशा गरिएको छ ।

त्यहाँ पाइने इँटालगायतका अन्य सामग्रीबाट पनि तिनीहरू कति सय वर्ष पुराना हुन् भनी पत्ता लगाउन सकिन्छ । बुद्धकालीन वा सोभन्दा पुरानो सहर, दरबार र अन्य संरचना जस्ताको तस्तै उत्खनन गरी प्रदर्शनयोग्य बनाउन ५ वर्ष लाग्ने अनुसन्धानमा संलग्नहरुले जनाएका छन् । यसअनुसार, ३ वर्ष उत्खनन, एक वर्ष संग्रहालयका रूपमा व्यवस्थापन र अर्को एक वर्षमा विश्वसामु यसको सार्वजनिकीकरण गरिने कार्यक्रम छ ।

No comments:

Post a Comment