स्थापित दोहोरी रेस्टुरेन्टमा त्यस्तो विकृति मौलाएको मैले देखेको छ्रैन
निशा सुनारलोकगायिका
दोहोरी रेस्टुरेन्टले धेरैलाई रोजगारी दिएको छ । यसले स्थापित कलाकार जन्माएको छ । म पनि दोहारी रेस्टुरेन्टबाटै आएकी हुँ । दोहोरी रेस्टुरेन्ट कदापि डान्सबार बन्ने छैन । मान्छे अझै पनि दोहोरी रुचाउँछन् । दोहोरी धेरै सभ्य छ डान्सबारभन्दा ।
दिनमा कतिवटा गीत गाइन्छ ?
म आफ्नै एल्बममा मात्रै गीत गाउँछु । मेरो गायनको बढी समय स्टेज प्रोग्राममा बित्छ । अहिले तराई टेलिभिजनमा बुधबार 'लोकठट्टा' कार्यक्रम चलाउँछु ।
अहिलेसम्म कतिवटा गीत गाइयो ?
दोहोरी गीत १२, लोकगीत सात र आधुनिक गीत १६ वटा गाएँ । धेरै गीत गाएको छैन ।
महिनामा कति कमाइ हुन्छ ? गाएर बाँच्न पुग्छ ?
कमाइ राम्रो छ । अहिलेचाहिँ गाएरै खान पुगेको छ । मैले गीत गाएरै धेरै देश घुमिसकेकी छु । म्युजिक भिडियो, टेलिभिजन कार्यक्रम र गायनबाट महिनामा त्यस्तै ५०-६० हजार कमाइ हुन्छ । स्टेज प्रोग्राम गर्दा कहिले हप्तामै एक लाख पनि हुन्छ कहिले महिनामा त्यति पुग्छ । विदेशमा एउटा स्टेज प्रोग्राममा गाएको एक लाख रुपैयाँ लिन्छु र नेपालमा चाहिँ एउटा स्टेज सोको २० हजार लिन्छु । त्यसभन्दा घटी-बढी लिन्नँ । अरूको एल्बममा गाएकी छैन, त्यसैले एल्बममा गाएर पैसा पाएकी छैन ।
दैनिक स्टेजमा कति घन्टा बिताइन्छ ?
स्टुडियोमा चाहिँ एल्बम निकाल्ने वेला मात्र व्यस्त भइन्छ । त्यसवेला यतिउति भन्ने हुन्न, पूरै दिनै स्टुडियोमा बित्छ । म बढी समय स्टेज सोमै व्यस्त हुने हुनाले त्यहाँ गीत गाउँदा 'वान्समोर' धेरै नै पाइन्छ । यति घन्टा नै स्टेजमा बित्छ भनेर ठ्याक्कै भन्न गाह्रो छ ।
अहिले सबैजसो लोकगीत कोठाभित्रै तयार गरिन्छ । यस्तालाई 'लोकगीत’ कसरी भन्नु र ?
कोठामा बसेर तयार गरे पनि गाउँघरकै मान्छेले लोकगीत लेख्छन् । उनीहरूलाई गाउँघरतिरका ठेट लोकभाका राम्रैसँग आउँछ ।
अचेलका लोकगीतमा ँगेट’ धेरै ठाउँमा आएका छन् । सहिदगेट, न्युरोडगेट, खैरेनीमा गेट, दमौलीमा गेट, नारायणघाटमा गेट सबै गेट गीतमा आइसकेका छन् । लोकगायकहरू किन यसरी गेटका पछाडि हत्ते हालेर लागेका होलान् ?
(लामो हाँसो) भगवान भण्डारीको गीत 'खैरेनीमा गेट' धेरै प्रख्यात भयो । अनि अरू लोकगायकलाई पनि गेट वा कुनै ठाउँको नाम गीतमा घुसाउन पाइयो भने गीत खुब चल्छ भन्ने लाग्न थाल्यो । गीतमा ठाउँको नाम आएपछि त्यस ठाउँका मान्छेलेे सुन्छन् र एल्बम चल्छ भन्ने पनि लाग्दो हो गायकहरूलाई ।
नेपालका सबै गेट सकिए भने मान्छेका घरका गेटमाथि गीत गाउने हो कि ?
सर्जक सधैँ लेखिरहन सक्छन् । उनीहरूको दिमागबाट गीत कहिल्यै पनि सिद्धिदैन । गेट सकियो भने खोलानाला, हिमाल वा अन्य ठाउँबारेमा गीत गाउलान् नि !
वरिष्ठ लोकगायकहरू अहिलेका तपाईंजस्ता लोकदोहोरी गायकले लोकगीत भसक्कै पारेर बिगारे भन्छन् नि ?
हामी स्टेजमा गीत गाउँछौँ । ७०/८० हजार मान्छे त्यो गीत सुन्न बसिरहेका हुन्छन् । कार्यक्रमको सुरुमा आधुनिक गीत गाए पनि अन्त्यमा दोहोरी नै गाउनुपर्छ, नभएर दर्शक खुसी हुँदैनन् । श्रोताले ताली पिट्ने गीत त गाउनैपर्यो ।
तपाईंलाई मन पर्ने लोकगायक ?
बद्री पंगेनी, राजु परियार, मिलन लामा, खुमन अधिकारी, रामजी खाँड, पशुपति शर्मा, पुरुषोत्तम न्यौपाने, प्रजापति पराजुली आदि ।
लोकगीतको यो बाढीले गतिला लोकगायकलाई बगाएर लग्यो भन्छन् हो ?
म त्यो मान्दिनँ । गतिलो गाउने आफैँ अगाडि आउँछन्, कुनै भेल या बाढीले बगाएर बग्दैनन् । पुराना र राम्रा लोकगायक आफैँ अगाडि आउनुपर्यो, गाउनुपर्यो । उनीहरूलाई तानेरै ल्याउन त सकिन्न नि ।
लोकगीतमा अंग्रेजी शब्द भरमार प्रयोग हुन थाल्यो । ब्युटिफुल, हेलो, बाई, डार्लिङ, गर्लपेन्ड...। यस्तो गर्नु सही हो ?
यो सही काम होइन । मेरा गीतमा अंग्रेजी शब्द प्रयोग हुँदैनन् । हामी देश-विदेशसम्म गीत गाउन जान्छौँ । विदेशीले पनि अंग्रेजी शब्द लोकगीतमा सुनेपछि 'नेपालीको मौलिकता के हो' भनेर प्र्रश्न गर्छन् । त्यसैले हामीले आफ्नो गाउँघरको मौलिकता आउने र माटोको गन्ध आउने गीत गाउनुपर्छ ।
तपाईंलाई दोहोरीको रानी भनिन्छ क्यारे । हरेक महोत्सवमा गाउन पुग्नुहुन्छ । एउटा अविस्मरणीय घटना बताउनुस् त...
म अमेरिकाको बाल्टिमोरमा गीत गाउँदै थिएँ 'मनको इच्छा मनैमा रहेको, चाहियो केटा गि्रनकार्ड भएको' भन्ने । त्यो कार्यक्रम सकिएपछि एकजना नेपाली आए र मलाई बिहेको प्रस्ताव राख्दै भने, 'निशाजी म अमेरिकामा बसेको २० वर्ष भयो, अविवाहित छु । यहाँको सिटिजन पनि छ । मलाई तपाईं साह्रै मन पर्यो । मसँग बिहे गर्नुस्, सुखसँग राख्छु,' भन्नुभयो । मैले 'रमाइलो मात्रै गरेको हुँ, यो त गीत मात्रै हो,' भनेँ ।
अहिले दोहोरी रेस्टुरेन्टमा गाउनुहुन्छ ?
अहिले रेस्टुरेन्टमा गाउँदिनँ । पाँच वर्षसम्म रेष्टुरेन्टमै गाएँ । अहिलेचाहिँ म दोहोरी रेष्टुरेन्टमा गाउँदिनँ ।
दोहोरी रेस्टुरेन्टहरूमा विकृति बढिरहेका छन् रे नि ?
राति गीत गाउनेलाई हाम्रो समाजमा अझै पनि राम्रो दृष्टिले हेरिँदैन । स्थापित दोहोरी रेस्टुरेन्टमा त्यस्तो विकृति मौलाएको मैले देखेको छ्रैन । त्यत्तिका वर्ष रेस्टुरेन्टमा गाएँ, मैले दुव्यर्वहार कहिल्यै भोग्नु परेन । कोही ग्राहक टेबुलमा बोलाउँथे, म जान्नथेँ ।
दोहोरीका राम्रा पारखी दोहोरी रेस्टुरेन्ट पनि कुनै दिन डान्सबारजस्तै बन्लान् भन्ने चिन्ता गरिरहेका छन् । उनीहरूको चिन्ता कत्तिको जायज छ ?
दोहोरी रेस्टुरेन्टले धेरै बेरोजगारलाई रोजगारी दिएको छ । यसले स्थापित कलाकार जन्माएको छ । म पनि दोहारी रेस्टुरेन्टबाटै आएकी हुँ । यदि दोहोरी रेस्टुरेन्ट डान्सबार बन्ने भए यत्तिका वर्षसम्म त बनिसक्थँे नि । मान्छे अझै पनि दोहोरी रुचाउँछन् किनभने दोहोरी धेरै सभ्य छ, डान्सबारभन्दा ।
तपाईंका थुप्रै प्रशंसक होलान् । कुनै एक विशेष प्रशंसकबारे केही बताउनुस् न ।
थुप्रै छन् मेरा प्रशंसक । धेरैलाई मेरो बिहे भएर डिभोर्स भएको पनि थाहा छैन । मेरो स्वरको फ्यान धेरै छन्, रूपका पनि होलान् केही । धेरै त मेरो स्टेज सोबाट प्रशंसक भएका छन् । एकजना फ्यान मैले चितवनमा स्टेजमा 'गलबन्दी देऊ बैना' गीत गाउँदा स्टेजमै आए र गलबन्दी दिए । मलाई खुब खुसी लाग्यो, त्यो गलबन्दी अहिले पनि मसँग छ ।
पे्रम र विवाह प्रस्ताव कत्तिको आउँछन् ?
प्रेम र विवाह प्रस्ताव धेरै नै आउँछन् । गनिसाध्य छैन । तर, डिभोर्सपछि अर्को बिहेबारे केही पनि सोचेको छैन ।
प्रस्तुतिः दीपक सापकोटा

No comments:
Post a Comment