आफूलाई प्रख्यात मेनपावर कम्पनीको एजेन्ट बताउने कालुमान राईले इलाम बरबोटे-२ की २४ वvषीया सानीमाया राईलाई कुवेत लैजान्छु भन्दै घरबाट लिएर गए । सानीमाया घरबाट गएको ११ वर्षसम्म उनको कुनै खोजखबर भएन । तर, एकाएक परराष्ट्र मन्त्रालयले पत्र पठाएर सानीमायाको आत्महत्याबाट दुई वर्षअघि कुवेतमै मृत्यु भएको जानकारी दिएपछि उनको परिवार शोकाकुल भएको छ ।
'एक्कासि मृत्यु भइसकेको खबर आउँदा हामी चिन्तित भएका छौँ,' सानीमायाका दाजु भक्त राईले भने, 'तर, मन्त्रालयले न उनको शव देखाएको छ, न त शव नेपालमा आएको जानकारी नै दिएको छ ।' भक्तको परिवारमा बहिनीको मृत्यु भएको खबर पत्याउने कि नपत्याउने भन्ने अन्योल छ ।
यस्तै इलामको सुलुबुङ-२ का लीलाबहादुर राराहाङकी २१ वर्षीया छोरी सुमित्रा पनि २०६५ वैशाख पहिलो सातादेखि परिवारको सम्पर्कभन्दा बाहिर छिन् । कुवेत लैजान्छु भन्दै माइमझुवाका ओमकार गुरुङमार्फत सुरुंगाका भुपेन्द्र कार्कीले भारतको मुम्बईबाटै कतार लगेको भने पनि सुमित्राको अहिलेसम्म कुनै अत्तोपत्तो छैन । उनलाई १५ दिनमा सुमित्रा काममा पुगेको खबर आउने र २ महिनापछि पैसा पठाउने आश्वासन दिइएको थियो । 'छोरी कहाँ छिन् र के गर्दर्ै छिन् भन्ने कुनै पत्तो छैन,' लीलाबहादुरले भने ।
उनको खोजीका लागि देउरालीस्थित बन्दुके प्रहरी चौकीमा जानकारी गराइएको छ । दुई वर्षभित्रमा सुमित्रालाई परिवारको जिम्मा नलगाए ओमकारमाथि ज्यानमुद्दा लगाउने बन्दुके प्रहरी चौकीका हवल्दार ढाका अधिकारीले जानकारी दिए ।
यी युवती उदाहरण मात्र हुन् । इलाम जिल्लाका विभिन्न गाउँबाट विदेश लैजाने बहानामा लगिएका पाँच युवती बेपत्ता छन् । दलालले विदेशमा राम्रो कमाइ हुने र परिवारलाई पनि राम्रो आम्दानी हुने लोभ देखाएर भारतको मुम्बई हुँदै अबैध रूपमा विदेश लैजाने गरेका छन् । यसरी लगेकामध्ये अधिकांश युवती घरबाट हिँडेको मितिदेखि नै परिवारको सम्पर्कमा छैनन् ।
दलाल भने काठमाडौंको अज्ञातस्थलमा बसेर मोबाइल नम्बर परिवर्तन गरी युवतीका परिवारलाई झुठो आश्वासन अझै बाँडिरहेको पीडितले बताएका छन् । वैदेशिक रोजगारीका लागि कुवेत पुगेकी पञ्चकन्या- १ तिनघरेकी २८ वषर्ीया शोभा प्रधान पनि एक वर्षदेखि परिवारको सम्पर्कमा आउन सकेकी छैनन् । शोभालाई स्थानीय छायाँ राईले वर्ष दिनअघि रोजगारीमा लगाइदिने आश्वासनमा कुवेत पुर्याएकी थिइन् । कुवेत पुगेपछि सुरुमा एक/दुईपटक परिवारसँग फोनसम्पर्क गरेको भए पनि एक वर्षदेखि उनी सम्पर्कविहीन भएको आफन्त सञ्जय प्रधानले बताए । इलामकै चमैता गाविसकी २० वषर्ीया माया गुरुङलाई पुवामझुवा-५ की गंगा गुरुङले रोजगारीमा लगाइदिने भन्दै गतवर्षको जेठमा घरबाट लिएर गएकी थिइन् । दलालका रूपमा काम गर्ने गंगा गुरुङलाई उनका बारेमा बुझ्न खोज्दा हराएकी छैनन्, सम्पर्क गर्छिन् भन्ने उत्तर पाएको तर यतिका समय बिते पनि कुनै सम्पर्क हुन नसकेको मायाका बाबु डुकप्रसादले बताए । 'पटक-पटक फोन गर्दा पनि दलालले हामीलाई कुनै सम्पर्क गराएका छैनन्,' उनले भने । गत जेठमै माया गएको वर्षदिन बिते पनि अहिलेसम्म सम्पर्क नभएकाले उनीहरूको खोजीमा लागेको पीडित परिवारले बताएका छन् । बेपत्ता युवतीको खोजीका लागि परिवारले स्थानीय प्रहरीलाई पनि खबर गरेका छन् । तर, प्रहरीले पहिले बेपत्ता भएकालाई भेट्टाएर ल्याए मात्र दोषीलाई कारबाही गर्ने गैरजिम्मेवारपूर्ण उत्तर दिएको पीडितले बताए । 'बेपत्ताको खोजीका लागि अनुरोध गर्दा प्रहरीले उल्टै आफैँ खौज्न भनेपछि हामी निराश भएका छौँ,' पीडितले भने । युवतीहरूलाई विशेषगरी इलामको पूर्वी पशुपतिनगर, हिले छब्बिसे, चारमाइल, वौद्धधामलगायतका नाकाबाट भारत लैजाने गरिएको माइती नेपाल पशुपतिनगरले बताएको छ । इलाम, पाँचथर, झापा, ताप्लेजुङ, तेह्रथुम मात्र नभई पश्चिमी नेपालका सिन्धुपाल्चोक, दोलखालगायतका स्थानबाट पनि पशुपतिनगर नाका हुँदै चेलीबेटी बेचबिखन गर्ने गरिएको माइती नेपाल पशुपतिनगरका संयोजक होम ढकालले बताए । 'दार्जिलिङमा रहेका आफन्त भेट्ने बहाना बनाएर पशुपतिनगर नाकाबाट महिलालाई भारत लगिने गरेको छ,' उनले भने, 'दलालहरू यो नाकालाई अरू नाकाभन्दा सुरक्षित मान्दा रहेछन् ।' यसरी दलालको जालमा पर्ने युवतीहरू अशिक्षा र चेतनाको अभावले धेरै कमाउने लोभमा फसेको संयोजक ढकालको अनुभव छ । नयाँ पत्रिका
No comments:
Post a Comment