शोक तथा श्रद्धाञ्जली सभा

काठमाडौं/ ७ मंसिरमा दिवंगत भएका कलाकार, द्वन्द्व तथा कला-निर्देशक गोपाल भुटानीको १३औँ पुन्यतिथिका अवसरमा चलचित्र द्वन्द्व कलाकार संघले आइतबार राजाधानीमा शोक तथा श्रद्धाञ्जली सभा आयोजना गर्‍यो ।
आन्द्राको क्यान्सरका कारण दिवंगत भएका ७८ वर्षीय कलाकार भुटानीप्रति श्रद्धाञ्जली अर्पण गर्न उपस्थित फिल्मकर्मीले उनले नेपाली फिल्म क्षेत्रमा दिएको योगदानको चर्चा गरेका थिए ।
 द्वन्द्व कलाकार संघका अध्यक्ष योगेन्द्र श्रेष्ठले स्वर्गीय भुटानी द्वन्द्वका पिता भएकाले आफ्नो संघबाट अब हरेक वर्ष द्वन्द्व श्री पुरस्कार प्रदान गरिने बताएका थिए । उनले भुटानीको सालिक निर्माण गर्नुपर्नेमा जोड दिँदै सरकारले जग्गा उपलब्ध गराएमा आजैदेखि आफूहरू सो कार्यमा लाग्ने बताएका थिए । स्वर्गीय भुटानीको योगदानको चर्चा गर्ने क्रममा निर्देशक किशोर राना र मेकअपम्यान तथा प्राविधिक संघका अध्यक्ष सन्तु तामाङ भावविह्वल भई रोएका थिए । उनीहरूले भुटानीको निधनले नेपाली फिल्म क्षेत्रमा निकै ठूलो क्षति भएको बताएका थिए । निर्देशक लक्ष्मीनाथ शर्माले स्वर्गीय भुटानी नेपाली नागरिक भए पनि राज्यले अनागरिकको व्यवहार गरेकोमा आक्रोश व्यक्त गरेका थिए । अर्का निर्देशक तथा अभिनेता मोहन निरौलाले पनि भुटानीलाई नागरिकता नदिएर राज्यले आफ्नो नालायकीपन प्रस्ट पारेको बताए । उनले स्वर्गीय भुटानी आमनेपालीका गौरव भएको बताउँदै नागरिकताको प्रसंग उठाएर उनलाई अवहेलना नगर्न आग्रह गरे ।
फिल्मकर्मीको न्यून उपस्थिति रहेको सो सभामा भुटानीले नेपाली फिल्म क्षेत्रमा गरेको योगदानको चर्चा गर्ने अन्य फिल्मकर्मीमा चलचित्र निर्देशक समाजका अध्यक्ष केपी पाठक, निर्देशक किशोर राना, लक्ष्मीनाथ शर्मा, निर्माता प्रदीप उदय, निर्देशक तथा पूर्वनिर्माता युवराज लामा, अशोक शर्मा, अभिनेत्री बसुन्धरा भुसाल, हास्य अभिनेता दीपकराज गिरी, निर्देशक विनोद सेरेङलगायत थिए । उनीहरूले नेपाली नागरिकता पाएर मर्ने भुटानीको अन्तिम र एक मात्र धोको राज्यले पूरा नगरेकोमा आक्रोश व्यक्त गरेका थिए । उनीहरूले भुटानीको सम्मानका लागि राज्यले उनको नाममा कुनै पुरस्कार घोषणा गर्नुपर्ने बताएका थिए ।
चलचित्र विकास बोर्डका अध्यक्ष अमर गिरीले स्वर्गीय भुटानीलाई मरणोपरान्त भए पनि नागरिकता दिलाउनका लागि आफू प्रतिबद्ध भएको बताए । उनले स्वर्गीय भुटानीले नेपाली फिल्म क्षेत्रमा गरेको योगदान सधैँ स्मरणीय र प्रेरणादायी हुने बताउँदै उनको नाममा पुरस्कार घोषणा गर्न आफ्नोतर्फबाट सक्दो प्रयास हुने बताए । श्रद्धाञ्जली सभामा उपस्थित हुनका लागि झन्डै पाँच सयलाई सन्देश पठाए पनि उपस्थिति न्यून भएकोमा आयोजक चलचित्र द्वन्द्व कलाकार संघका अध्यक्ष योगेन्द्रले खेद व्यक्त गरेका थिए । श्रद्धाञ्जली सभामा उपस्थित कलाकर्मी तथा सञ्चारकर्मीले दिवंगत भुटानीको आत्माको चिरशान्तिको कामना गर्दै श्रद्धाञ्जली अर्पण गरेका थिए । Naya Patrika

No comments:

Post a Comment