हङकङमा नेपाली सप्ताह सुरु

हङकङ, पुस १० - नेपाली भाषा संस्कृतिको पहिचान तथा सम्र्बद्धन गर्न बर्षेनी आयोजना हुँदै आएको नेपाली सप्ताह शनिबारबाट सुरु भएको छ ।
सप्ताहको पहिलो दिन स्मृति दिवस मार्फत नेपाली समाज निर्माणमा योगदान पुर्‍याउने नेपालीहरुलाई स्मरण गरिए । कार्यक्रम पीएच केन्द्रीय प्राथमिक विद्यालयमा आयोजना भएको थियो । सप्ताहकै मुख्य आकर्षण मानिएको शोभायात्रा आइतबार दिउसो हुनेछ ।
 
युङ लङस्थित घडीपार्कबाट सुरु हुने यात्रामा थरिथरिका नेपाली परम्परागत मौलिक बाजागाजा सहित सांस्कृतिक झाँकी प्रस्तुत गरिने आयोजकले जनाए । सहरका मुख्य भागहरुको परिक्रमा गर्दै अघि बढने र्‍यालीमा सहभागीहरुलाई आ-आफ्ना जातीय संस्कृति झल्कने भेषभूषामा सहभागी हुन अह्रावान गरिएको छ । युङ लङस्थित टाउनहलमा पुगी टुंगिने शोभायात्रापछि नेपाली विद्यार्थीहरु विविध सांस्कृतिक कार्यक्रममा सहभागी हुनेछन् ।
सप्ताहव्यापी कार्यक्रमका अन्य दिन  विद्यालयहरुमा नेपाली पुस्तकालयको उदघाटन, विद्यार्थीहरु बीच नेपाली भाषा, साहित्य, कला तथा संस्कृतिबारे प्रतियोगितात्मक संगोष्ठी लगायतका छन् । हङकङ नेपाली कला मन्दिरद्वारा आयोजित समारोहको संयोजक हङकङ नेपलीज फाउन्डेसन हो । विगत पाँच बर्षदेखि सप्ताह नियमित आयोजना हुँदै आएको छ ।

नेपाली भाषा संस्कृतिको विकास तथा सम्वर्द्धनमा कार्यक्रमले सघाउ पुर्‍याउने आयोजकको दाबी छ । 'हाम्रो भाषा, साहित्य र संस्कृति जीवन्त रहेमात्र नेपाली समाज स्थापित हुनसक्छ,' आयोजक कमिटीका अध्यक्ष एकराज राईले भने, 'प्रवासमै रहेपनि आफ्नो स्वतन्त्र पहिचान स्थापित हुनुपर्छ भन्ने हाम्रो मान्यता हो ।' उनले यस कार्यमा राज्यको पूर्ण सहयोग र समर्थनको खाँचो रहेको औंल्याए । अल्पसंख्यकहरुका भाषा, साहित्य र संस्कृति संरक्षणको जिम्मेवारी राज्यले नै लिनुपर्ने मागसहितका ज्ञापनपत्र सरकारलाई बुझाई सकिएको पनि उनले बताए । 'सन् २०१२ देखि लागू हुने तयारीमा रहेको नयाँ शिक्षा नीतिमा नेपाली भाषालाई पनि समावेश गर्न हामीले माग गरेका छौँ,' राईले भने, 'बर्षौदेखि स्थायी रुपमा बसोबास गर्दै आएका नेपालीले बोल्ने भाषा विदेशी भाषाको श्रेणीमा राख्न नमिल्ने हाम्रो अडान छ ।'
हङकङले नागरिक तथा राजनैतिक अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय सम्झौता १९७२ मा हस्ताक्षर गरेको छ ।सम्झौताका बुँदाहरु मध्ये बालबालिकाहरु पन्ध्रसम्म आफ्नै मातृभाषामा अध्ययन गर्न पाउने अधिकार स्थानीय सरकारले सुनिश्चित गर्नुपर्ने कुरामा समेत राईले जोड दिए ।

No comments:

Post a Comment