प्रधानमन्त्री बन्न देउवाले एमालेसँग मागे समर्थन


नयाँ पत्रिका
काठमाडौं, १२ पुस
कांग्रेस नेता शेरबहादुर देउवाले आफ्नो नेतृत्वमा नयाँ सरकार गठनका लागि गृहकार्य सुरु गरेका छन् । सोमबार साँझ एमाले महासचिव ईश्वर पोखरेलको धुम्बाराहीस्थित निवास पुगेका देउवाले आफ्नो नेतृत्वमा सरकार गठनका लागि एमालेसँग सहयोग मागेका हुन् ।
प्रधानमन्त्रीको जारी चुनावी प्रक्रियाबाट प्रधानमन्त्रीका एकमात्र उम्मेदवार रामचन्द्र पौडेललाई समर्थन मागिरहेको कांग्रेसका वरिष्ठ नेता देउवाले आफ्नो नेतृत्वमा सरकार गठनका लागि सकारात्मक हुन एमालेसँग आग्रह गरेको स्रोतले बताएको छ । एमालेले भने प्रधानमन्त्री चुनावको नयाँ प्रक्रिया सुरु गर्न पौडेलको उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै फिर्ता नलिए पौडेलको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ ।

स्रोतका अनुसार देउवाले नयाँ प्रक्रियामा गएर प्रधानमन्त्री चयन गर्दा माओवादी पनि आफ्नो नेतृत्वप्रति सकारात्मक भएको पोखरेलसँग बताएका थिए । एमाले महासचिव पोखरेलले देउवासँग समसामयिक राजनीतिक परिस्थिति र निकासका उपायबारे छलफल भएको बताए ।
'देउवाजी आउनुभएको थियो, राष्ट्रिय राजनीतिमा देखिएको संकट समाधानबारे छलफल भयो,' महासचिव पोखरेलले नयाँ पत्रिकासँग भने, 'सकेसम्म सहमतिबाटै राजनीतिक समस्याको समाधान खोज्नुपर्छ भन्ने कुरा भयो ।' सत्तासाझेदारीका विषयमा देउवासँग भएको छलफलबारे भने पोखरेलले केही बताउन चाहेनन् ।
स्रोतका अनुसार देउवाले नयाँ प्रक्रियामा गएर आफू अघि सरे माओवादी अध्यक्ष प्रचण्डले पनि समर्थन गर्ने वचन दिएको खुलाएका थिए । 'नयाँ प्रक्रियाबाट आउँदा प्रचण्डजीले पनि मप्रति सकारात्मक कुरा गर्नुभएको छ,' देउवाको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, 'तपाइर्ंहरूले पनि सहयोग गर्नुभयो भने राष्ट्रिय सहमतिकै सरकारको पनि सम्भावना रहन्छ ।' पौडेलको उम्मेदवारी फिर्ता वा मतदानबाट पराजित भए दोहोर्‍याएर पौडेल नै उम्मेदवार बन्ने सम्भावना कम रहेको देउवाको भनाइ रहेको स्रोतको दाबी छ ।
भेटमा पोखरेलले पौडेलको उम्मेदवारी फिर्ता गरेर नयाँ प्रक्रियमा गए आफ्नो पार्टी सरकारको नेतृत्वबारे खुला रहेको बताएका थिए । 'शान्तिप्रक्रियाअन्तर्गत रहेका प्रतिबद्धता पूरा नगरुन्जेल माओवादी नेतृत्वमा सरकार बन्न सक्दैन, अन्य जुनसुकै दलका नेताको हकमा एमाले खुला छ,' पोखरेलको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, 'नयाँ प्रक्रियामा जान कांग्रेसले उम्मेदवारी फिर्ता गरेर सहयोग गर्नुपर्‍यो ।' गत साता देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच देउवानिवासमा छलफल भएको थियो ।

No comments:

Post a Comment