काठमाडौ, मंसिर २० -
सरकारले खाडीका चार देशमा घरेलु महिला कामदार -हाउसमेड) पठाउन खुला गरेको छ । महिला कामदारको अवैध ओसारपसार नियन्त्रण गरी वैदेशिक रोजगार व्यवस्थित, मर्यादित र सुरक्षित बनाउन भन्दै मन्त्रिपरिषद्को बैठकले दूतावासलाई पूर्ण जिम्मेवारी दिई घरेलु कामदार जान दिने निर्णय गरेको हो । नेपाली दूतावास रहेका खाडीका साउदी अरब, कतार, कुवेत र संयुक्त अरब इमिरेट्समा अब महिला घरेलु कामदार जान पाउने छन् ।
वैदेशिक रोजगार विभागले खाडीमा औपचारिक क्षेत्रमा काम गर्न गएका महिला २३ हजार रहेको जनाए पनि दूतावासहरूका अनुसार दुई लाखभन्दा बढी महिला कामदार छन् । बहराइन र ओमानमा पनि पाँच हजारभन्दा बढी नेपाली हाउसमेड छन् ।
'नेपाली घरेलु कामदारलाई खाडीमा पठाउने सम्बन्धमा सबै निकायलाई व्यवस्थित गर्ने गरी सरकारले निर्णय गरेको छ,' श्रम मन्त्रालयका प्रवक्ता पूर्णचन्द्र भट्टराईले भने, 'यसका लागि दूतावासलाई पत्राचार भइसकेको छ ।' वैदेशिक रोजगार ऐनले विदेशमा काम गर्न महिलालाई रोकेको छैन । तर खाडीको श्रम कानुनमा घरेलु काम नसमेटिएको र पूर्णरूपमा असुरक्षित भएको भन्दै सरकारले प्रतिबन्ध लगाएको थियो वैदेशिक रोजगारका माध्यमबाट महिला मानव तस्करीको जोखिममा परेको भन्दै सचिवहरू र कुवेतस्थित नेपाली राजदूत सम्मिलित उच्चस्तरीय कार्यदलले प्रधानमन्त्री माधवकुमार नेपाललाई खाडीमा घरेलु महिला कामदार -हाउसमेड) माथिको प्रतिबन्ध हटाउन एक महिनाअघि सुझाव दिएको थियो ।
गृह, श्रम, परराष्ट्रलगायत पाँच मन्त्रालयका सचिव र सहसचिवहरूको छुट्टाछुट्टै कार्यदलले निश्चित मापदण्ड बनाई वैधानिक रूपमा पठाए महिला बेचबिखन रोकिने सुझाव प्रधानमन्त्रीलाई दिएका थिए ।
प्रकाशित मिति: २०६७ मंसिर २२ ०७:११
No comments:
Post a Comment