काठमाडौं, २४ कात्तिक
माओवादीले गोरखाको पालुङटार गाविसमा हुने छैटौँ विस्तारित बैठक सम्पन्न गर्न करिब तीन करोड खर्च हुने अनुमान गरेको छ । बैठकमा खाना र खाजामा मात्र एक करोड रुपैयाँ खर्च हुने भएको छ ।
पालुङटार गाविस- ८ तान्द्रुङटारमा ५ मंसिरदेखि माओवादी विस्तारित बैठक सुरु हुँदै छ । स्रोतका अनुसार माओवादीले बैठकका हरेक सहभागीबाट सहभागिता र 'मेस' खर्च गरी
एक हजार उठाउने तयारी गरेको छ । बैठकमा करिब ६ हजार नेता सहभागी हुने माओवादीले जनाएको छ । उनीहरूबाट करिब ६० लाख रुपैयाँ जम्मा हुनेछ ।
बैठकस्थल तयारी, बैठकमा आवश्यक सामग्री खरिद, व्यवस्थापनमा खटेका नेता तथा कार्यकर्ताका लागि हुने खर्चका लागि सहभागीबाट उठेको रकमबाहेक पार्टी-कोष र अन्य सहयोगबाट बाँकी रकम जुटाइने माओवादीका एक स्थायी समिति सदस्यले बताए । उनले कसैसँग चन्दा भने नउठाएको दाबी गर्दै भने, 'चन्दा उठाएका छैनौँ, पार्टी-कोष र केही ठाउँबाट हुने सहयोगबाट खर्च जुटाइनेछ ।'
विस्तारित बैठकका सहभागीलाई खाना र खाजा खुवाउनका लागि चितवनको नारायणगढस्थित संगम टेन्ट हाउसलाई मेसको जिम्मा दिइएको माओवादी केन्द्रीय सदस्य तथा मूल व्यवस्थापन समितिका सदस्य हरि अधिकारीले जानकारी दिए । खानामा मात्र करिब एक करोड खर्च हुनेछ । टेन्ट हाउसलाई प्रतिव्यक्ति प्रतिदिन दुई सय रुपैयाँका दरले मेसखर्च बुझाइने माओवादी स्रोतले जनाएको छ । केन्द्रीय सदस्य अधिकारीका अनुसार ४४ वटा क्याटरिङ र १४ वटा भान्सा राखेर खाना र खाजा उपलब्ध गराउन टेन्ट हाउससँग सहमति भइसकेको छ । यसअघि पाँचौँ विस्तारित बैठक र खरिपाटी भेलामा भने वाइसिएलले मेसको जिम्मा पाएको थियो ।
माओवादीले सहभागी कार्यकर्तालाई आवासको व्यवस्था गर्न पालुङटार र आसपासका गाउँलेलाई गुहारेको छ । बैठक तयारीका क्रममा आसपासका गाउँका घरधनीलाई आवास उपलब्ध गराइदिन अनुरोध गरिएको छ । नेता अधिकारीले भने पालुङटार बजार वा बाह्रपिर्खेमा नेता तथा कार्यकर्तालाई राख्ने तयारी भइरहेको तर अन्तिम निर्णय नभएको जानकारी दिए । माओवादीले कार्यकर्ताहरूलाई कम्बल वा स्लिपिङब्याग लिएर आउन निर्देशन दिएको छ ।
No comments:
Post a Comment