वेम्बली एरेनामा नेपथ्य

नेपाली संगीत पारखीमाझ लोकप्रिय नेपथ्य समूह आउँदो साउनमा बेलायतको विश्व प्रसिद्ध वेम्बली एरेनाबाट विश्वसामु प्रस्तुत हुँदैछ। १२ हजार ५०० दर्शक क्षमताको विश्व प्रसिद्ध स्टेडियम वेम्बलीको आधिकारिक वेबसाइटwww.wembleyarena.com का अनुसार १९ साउन २०७० मा हुने नेपथ्य समूहको कन्सर्टको वेबसाइटमार्फत टिकटसमेत बिक्री शुरू भइसकेको छ। नेपथ्यलाई बेलायतमा प्रत्यक्ष हेर्न चाहने दर्शकले २८.२५ पाउण्ड अर्थात् रु.३७०० तिर्नुपर्नेछ।


 अमृत गुरुङको स्वरका चर्चित नेपाली गीतहरू यसै स्टेडियमबाट विश्वसामु गुञ्जने छन्। यसअघि भारत, अमेरिका, नेदरल्याण्ड, हङकङ,
कोरियालगायतका देशमा नेपथ्य प्रस्तुत भइसकेको भए पनि बेलायतको यो कन्सर्ट फरक हुनेछ। विश्वभरका कलाकारहरूको सपना रहेको वेम्बली एरेनामा प्रस्तुत भएपछि नेपथ्यको अन्तर्राष्ट्रिय छवि बढ्नेछ। वेम्बलीको अनलाइनमा नेपथ्यलाई ऐतिहासिक हिमालयन लोक तथा पप ब्याण्डको रूपमा चित्रित गरिएको छ। २२ वर्षदेखि नेपाली लोक पपको क्षेत्रमा नयाँ ट्रेण्ड सेट गर्दै नेपथ्य समूह सामाजिक सेवामा समेत अग्रसर रहँदै आएको अनलाइनमा उल्लेख छhttp://www.wembleyarena.co.uk/events/detail/napathya। यसबारे नेपथ्य समूह र उसको प्रवर्द्धक संस्था नेपालयले आधिकारिक जानकारी सार्वजनिक गरिसकेको छैन। सन् १९३४ मा स्थापना भएको वेम्बलीको मञ्चमा सांगीतिक प्रस्तुति दिने नेपथ्य नेपालको पहिलो ब्याण्ड हुनेछ। जुन मञ्चमा माइकल ज्याक्सन, बब डेलन, म्याडोना, ब्रिट्नी स्पेयर्स, साकिरा, ट्वेलर सिफ्ट, जस्टिन बेबर लगायतका एक से एक विश्व प्रसिद्ध नयाँ पुराना गायकहरू प्रस्तुत भइसकेका छन्। नेपथ्यको यो सफलता वितेको २२ वर्षमा नेपाली समाज र दर्शकमाझ बनाएको छविको परिणाम हो। सार्वजनिक सरोकारका विषय उठाएर कार्यक्रम पस्कने यो समूहले माओवादी ‘जनयुद्ध’ बाट सिर्जित हिंसा–प्रतिहिंसाको श्रृंखला चुलिएका बेला शान्तिको पक्षमा देश―यात्रा गरेको थियो भने ‘सुन्दर शान्त नेपाल’ र ‘शान्तिका लागि शिक्षा’ नाममा ठूला–साना शहर र गाउँगाउँमा सांगीतिक कार्यक्रम गरेको थियो। संगीतयात्राबाट उठेको रकम युद्ध प्रभावित क्षेत्रका विद्यालयको पूर्वाधार विकासमा सहयोग गरेको यो समूहले माओवादी ‘जनयुद्ध’ का बेला नेपालीले भोग्नुपरेको पीडालाई घटना अल्बममार्फत सांगीतिक आकार दिएको थियो। घटना को ‘डकुमेन्ट्री’ समेत बनाएर नेपालीको युद्ध भोगाइलाई देश/विदेशसम्म पुर्‍याएको छ। समूहले हालसम्म नेपथ्य, हिमाल चुचुरे, मीन पचासमा, श्रीनगर, रेशम, भेडाको ऊन जस्तो, घटना, मेरो देश, ऐना झ्याल गरी ९ अल्बम श्रोतामाझ पस्किसकेको छ। -अनुशील श्रेष्ठ

No comments:

Post a Comment