सहिष्णुताको शंकट

बिज्ञान शर्मा 15 June 2012 United Kingdom


नेपाल, बिश्व मानचित्रमा सानो मध्यको एक बिकाशोंमुख देश जुन दुई भीमकाय छिमेकिहरुको बिचमा पिल्सियको छ | मानव सभ्यताको आंकलन गर्दा दुई भिन्न उद्गम बिंदु आर्य र मंगोलको समिश्रण | यस मानेमा नेपाल एक आगंतुकहरुको देश जहां दुई भिन्न सभ्यताको मिलन छ जुन बिश्वका बिरलै देशमा पाइन्छ |
 

पृथ्बी नारायण शाहको एकीकरण पछि दरबारिया र राणा शासन, न त्यहाँ बाहुन छेत्रिको बोला बाला थियो न त जनजातिकै; थियो त दरबारिया र नौकरशाहिको | पृथ्बी नारायणको एकीकरण अभियान नभएको भए शायद अहिले नेपाल हुन्थ्यो हुदैनथ्यो र यसका फाइदा बेफाइदा त बिज्ञहरूले बेलाबेला केलाई राखेकै छन |राणा शासनको अबशान र बिश्वमा दोश्रो बिश्वयुद्ध पछिको उदेग लाग्दो शान्ति वा शीत युद्ध तथापि ब्रिटिश सामराज्यले पुरै घुंडा नटेक्दैको अबस्था | बि. सं. २००७ सम्म देशमा कस्तो अन्योल र कति पढ़े लेखेका टाठा बाठा थिए भन्ने त नेपालको संबिधान भारतियहरूले लेखी  दिएको प्रशंगले पनि प्रस्ट पार्छ | बि. सं. २००७ पछि शुरू हुन्छ नेपालीहरुको  राजनैतिक चलखेल र ध्रुबिकरण | जुन बेला प्रजातंत्र आयो त्यो  नेपाली जनतालाई बांदरको हातमा नरिवल भयो र राजा महेंद्रले त्यसको भरपूर उपयोग गरि प्रजातंत्र को घांटी निमोठे |
प्रजातंत्र त आयो तर हुकुमी शासकका पोषकहरुको चाल चलनमा परिबर्तन अएन | फलतः उही मुखिया, जिम्वाल र राजा साहेबको चंगुलबाट देश मुक्त हुन सकेन | यहाँ सम्मकी म आफैले मेरो पिताजीले गाउको राजा साहेबलाई बेठी बुझाएको देखेको छु र ती राजा साहेब वा मुखियाहरू दलित बाहेक कुनै पनि जात जातिका हुन्थे मात्र ठाऊ र परिबेश फरक हो | सोझा साझा नेपालीले ब्रिटिश साम्राज्यको लागी कति आहुति दिए भन्ने त इतिहास साँची छ तर दुर्भाग्य देशका जनजाति मध्यका जेहेंदार र होनहार युबाको आकर्षण बिंदु ब्रिटिश आर्मी हुनुमै सिमित रह्यो | प्रसंग म आइ. एस्सी. पढ्दा मेरा सहपाठी मित्रहरु जो अब्बल दर्जाका हुनुहुन्थ्यो र पहिलो बर्षमा प्रथम श्रेणीमा उतीर्ण हुनुभएको थियो, पढाई चटक्क छाडी भर्ति हुनुभयो | देशले डाक्टर वा इंजिनीयर गुमायो या त राम्रो नेता | शायद यो उहांहरुको घरायशी बाध्यता पनि थियो | 
नेपालको त्यति बेलाको परिबेश जनजाति इंजीनियर भन्दा ब्रिटिश लाहुरेको (चलन चल्तिको शब्द) आकर्षण बढ़ी थियो | लाहुरे छोडेर छोरी इंजीनियरलाई दिदैन थिए | पढ़े लेखेकालाई पनि लाहुरे हुन सकेन भनी बाऊआमाको कटु बचन सुन्नु पर्ने अबस्था थियो र कति मानसिक तनाबको उल्झनमा परे होलान तर पनि जनजातिबाट उच्च शिक्षा हासिल सबै स्थापित छन| यस अर्थमा जनजातिका होनहार युबाहरू पढाई बिच मै छाडी गल्लावालाको अगाड़ी पछाड़ी हिड़ने झुण्डमा परिणत भयो | ठकुरी, छेत्री तथा नेवार नगन्य मात्रामा भर्ति हुन सक्षम भएपनि बाहुनहरुलाई त बन्देज नै थियो फलस्वरूप डार्विनको बिकाशबादी सिद्धांत जस्तै जिउनको लागी बाहुन क्षेत्रीहरु पढाई पूरा गरि सरकारी जागीर ताकेपछि समयको कालखंडमा (करीब पांच दशक) बाहुन क्षेत्री नेवारको हाली मुहाली सरकारी जागीरमा बढ़ी भयो | 

जनजाति तत्कालीन युबाहरूले जति परिश्रम भर्ति हुनमा लगाउनु भयो त्यही श्रम पढेर सरकारी जागीरको लागि लगाउनु भएको भए अहिले समानुपातिक अबस्थामा हुनुहुथ्यो | अहिले बाहुन क्षेत्रिले अरुलाई थिचोमिचो गरे भन्ने जुन भ्रम सृजना भएको छ त्यो निरर्थक छ | थिचोमिचो हिजो र आज पनि दलितहरुमा छ जुन हेयको दृष्टिबाट माथिल्ला भनाउदा जातहरूले गरेका छन त्यसमा बाहुन क्षेत्री जनजाति सबै पर्छन | यहाँसम्मकी दलितले दलितलाई नै थिचोमिचो गर्छन | क्षेत्रगत उद्पिडित जातिपनी छन जस्तै तराईमा थारुहरू र तराईका दलितहरु जो अझ बढ़ी पीड़ित छन |  देश अहिले संक्रमण कालबाट गुज्रिरहेको अबस्थामा नेताहरुको सिमित स्वार्थको चपेटामा परि सर्बसाधारण नेपालीहरु आपसमा  बैमनस्यताको भुमरीमा फसेको भान हुन्छ | देश नेपाली सबै को हो र यसका साधन स्रोतको अधिकार सबै तप्काका जातजाती, मधेसी र दलित सबै को हो | 
देश सानो भए पनि यस्मा बिशाल सांकृतिक, भौगोलिक बिबीधता पाइन्छ जुन नेपालीका लागी गौरवको बिषय हो र यसलाई जोगाई राख्ने दायित्व पनि | पूर्वको किरांत संकृति, तराईका मिथिला लुम्बिनी, पहाड़का लिगलिग़ कर्णाली काष्ठमान्ड़प सबैले आफ्नो इतिहास र महत्व बोकेका छन त्यसलाई जोगाई राख्ने दायित्व नेपाली कै हो | देश संघियतामा जाने निश्चित छ र बिकाशको लागी परिबर्तन चाहिन्छ त्यसमा संकीर्ण सोच राख्ने बिकाशका बाधक हुन सक्छन | सबैलाई आफ्नो पहिचान प्यारो हुन्छ र यसैका लागी संसारमा ठूला ठूला युद्ध भएका छन | यो कुरा सबैले बुझनू जरुरी छ | पहिचान सहितको राज्य हुनुमा कसैलाई आपति नहुनु पर्ने तर आफ्नो अधिकार लिंदा अरुको अधिकार हनन नहोस र आफ्नो संस्कृति जोगाऊदा अरुको संस्कृतिमा असर नपरोस भन्ने हेक्का राख्न जरुरी छ | 
समय परिबर्तनशील छ, बार्हौं शताब्दीमा प्रजातंत्र आएको बेलायतमा त सत्तरी को दशक सम्म महिला र पुरुषमा भेदभाब थियो भने नेपाल जस्तो देशजहां गरीबी र अशिक्षाले अझै ज़रा गाडेको छ त्यहाँ स्वच्छ नेता र प्रसाशन पाउन ठुलै संघर्ष गर्नु पर्ने हुन्छ | 
केहि दिन अगाडी गोरे बहादुर खपांगीजी ले भन्नु भयो 'बाहुनहरू फिरंते र लुटुवा हुन | फिरंते त उद्गम बिंदुको (उत्तर र दक्षिण) हिसाबले सबै नेपाली हुन तर खपांगी जी पो बढ़ी भए जस्तो लाग्यो | कहिले एमाले, कहिले ज्ञानेन्द्रको मंत्री, अहिले जनजाति नेता, भोली यो मुद्दा सेलाए पछि कता हो कता | लुटुवा बाहुन मात्र होइनन, केहि अपबाद छोडेर शक्ति र सत्तामा पुगेका सबै हुन मात्र अंकको फरक होला | 
अब जाती जाती होइन एक जाती नेपाली भएर अगाडी बढ़ने बेला हो | कसैले जति जातिको डम्फु ठोकेपनी देश धनि र सम्पन्न नभए सम्म हाम्रा समस्या यथावत नै रहनेछन | अहिले जुन आपसी सद्भाबको खाडल बढेको छ, त्यसलाई सम्याउन हातेमालो गरौं |
                      "तराईको चेली पहाडमा आओस                     शर्माको छोरी बिश्वकर्माकोमा जाओस                      नया पीढ़ीलाई परिबर्तनको बाहक बनाऊं                      अंतरजातीय बिबाह्लाई समर्थन जनाऊं                     मिलौं आपसमा पारौं देशको शिर ठाडो                      कोही नबनौं नेताको मागी खाने भाँड़ो                     सबै समेट्ने संबिधानको छिटो होस आगमन                     मिली सबै गरौं शंकट र अबिस्वासको समाधान" |                    

No comments:

Post a Comment