अभिनेता भुवन केसी एमालेमा प्रवेश

काठमाडौं, १९ पुस
अभिनेता भुवन केसी एमालेमा प्रवेश गरेका छन् । एमालेको सिद्धान्त, विचार र नेताबाट पहिलेदेखि नै प्रभावित भएको भन्दै उनी पार्टी प्रवेश गरेका हुन् ।
सोमबार एमालेको भ्रातृसंगठन जनसांस्कृतिक महासंघको स्थापना दिवसका उपलक्ष्यमा राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा अभिनेता केसीलाई प्रधानमन्त्री माधवकुमार नेपालले फूलमाला र रातो टीका लगाएर एमालेमा स्वागत गरे । प्रधानमन्त्री नेपालले भुवनजस्तो कलाकार आफ्नो पार्टीमा प्रवेश गरेकोमा खुसी लागेको बताए । केसीले पनि आफू पहिलेदेखि नै एमालेप्रति आकषिर्त भएको र सक्रियरूपमा राजनीतिमा लाग्न औपचारिकरूपमा पार्टीमा प्रवेश गरेकोे बताए । 'म पहिलादेखि नै एमालेको सिद्धान्त, विचार तथा नेताबाट प्रभाबित थिएँ, त्यसमाथि प्रधानमन्त्रीज्यूसँग मेरो निकट सम्बन्ध छ, जसकारण म पहिला नै एमालेमा प्रवेश गर्न चाहन्थेँ, तर बल्ल मौका मिल्यो,' उनले भने, 'अब सक्रिय राजनीति गर्न चाहन्छु, त्यसैले पार्टीमा औपचारिकरूपले प्रवेश गरेँ ।' उनले फिल्ममा जस्तै एमालेको राजनीतिमा पनि हिट हुने दाबी गरेका छन् । उनीसँग नयाँ पत्रिकाले सोमबार साँझ संक्षिप्त कुराकानी गरेको थियो ः

एमालेमा किन प्रवेश गर्नुभयो ?
मलाई एमालेको विचार, सिद्धान्त तथा नेता मनपर्छ । म पहिलादेखि नै एमालेमा प्रवेश गर्ने विचारमा थिएँ । मौका मिलेको थिएन । मैले धेरै सोचविचार गरेर पार्टी प्रवेश गरेको हुँ । प्रधानमन्त्रीज्यू तथा अन्य नेतासँग मेरो राम्रो सम्बन्ध छ । मैले कलाकारिताको माध्यमबाट जसरी मुलुक र आमनेपालीको सेवा गरिरहेको छु, त्यसरी नै राजनीतिबाट पनि देश र जनताको सेवा गर्ने अठोट गरेको छु ।

कतिपय कलाकार माओवादीमा प्रवेश गरे, कतिपय काँग्रेसमा सक्रिय छन् । तपाईं एमालेमा लाग्नुभयो । अभिनेताहरू नेता बन्न थालेपछि कलाकारिता कसले गर्ने ?
अन्य पार्टीमा प्रवेश गर्नुभएका, सक्रिय फिल्मकर्मी साथीहरूलाई म सम्मान गर्छु । उहाँहरूको आफ्नो विचार, सिद्धान्त छ । मेरो विचार आफ्नो छ । तर राजनीतिक कारणले हामी कलाकारमा मतभिन्नता, मनमुटाव हुँदैन । मलाई एमालेको विचार, सिद्धान्त मन पर्‍यो, म प्रवेश गरेँ । अरू साथीहरू कसैलाई माओवादी मन पर्‍यो, कसैलाई काँग्रेस मन पर्‍यो । राजनीतिक विचार भिन्दै भए पनि हाम्रो कलाकारिताको साइनोमा यसले कुनै असर पार्नेछैन ।

तपाईंलाई त पहिलादेखि नै राप्रपाको समर्थक भनिन्थ्यो । केहीअघि तपाईंले आफूलाई राप्रपाले संविधानसभाको चुनावमा उठ्नका लागि टिकट दिएको कुरा बताउनुभएको थियो । अहिले तपाईं एक्कासि एमालेमा प्रवेश गर्नुभयो, कुरा के हो ?
हो, मलाई संविधानसभाको चुनावमा राप्रपाले टिकट दिन्छु, उठ्नुपर्‍यो भनेको थियो । तर त्यतिवेला राजनीतिमा लाग्ने मेरो कुनै सोचाइ थिएन । त्यतिवेलासम्म मैले कुनै दिन राजनीतिमा आउँला भन्ने कल्पनासम्म पनि गरेको थिइनँ । समयक्रमसँगै मलाई राजनीतिमा लाग्ने इच्छा बढ्दै गयो । एमालेका विचार र सिद्धान्त मन पर्नथाल्यो । म राप्रपाप्रति आभारी छु, त्यो पार्टीले मलाई राजनीतिमा सक्रिय गराउन चाहेको थियो । तर अब आएर मात्र मौका जुरेको छ ।

कलाकार राजनीतिमा लाग्दा कलाकारिता कमजोर हुँदैन ?
कलाकारका पनि आ-आफ्ना विचार हुन्छन् । उनीहरूमा पनि राजनीतिक चेतना हुन्छ । जसरी उनीहरूले कलाकारिताको माध्यमबाट समाजमा सकारात्मक सन्देश फैलाउँछन्, त्यसरी नै राजनीतिको माध्यमबाट पनि उनीहरूले धेरै काम गर्न सक्छन् । कलाकार राजनीतिमा लाग्नु बेठीक होइन ।

अन्य पार्टीका दर्शकले भुवन केसी एमालेको मात्र हो भन्लान् भन्ने लाग्दैन तपाईंलाई ?
म सम्पूर्ण नेपालीको माया पाएको कलाकार हुँ । मैले पाउनुपर्ने माया, सम्मान, पाइरहेको छु । म कुनै पद पाउने लोभमा पार्टीमा लागेको होइन । त्यसकारण म कलाकारको रूपमा जे छु, राजनीतिमा लाग्दा पनि तीन करोड नेपालीले नै मलाई त्यत्तिकै साथ दिनेछन् भन्ने विश्वास छ । म सधैँ देश, जनता र नेपाली फिल्म उद्योगको हितका खातिर काम गर्नेछु । जसकारण पार्टी प्रवेशका कारण मप्रति आमनेपालीले देखाउनुभएको सदासयतामा रत्तिभर पनि कमी आउने छैन भन्ने लाग्दछ ।

राजनीतिमा लागेर के के गर्ने योजना बनाउनुभएको छ ?
म भर्खर पार्टीमा प्रवेश गरेको छु । मैले धेरै कुरा सिक्न, जान्न अनि बुझ्न बाँकी छ । तर, यति कुरा भन्छु कि म देश र आमनेपालीको लागि सधैँ राम्रो काम मात्र गर्नेछु । म सधैँ बफादार रहनेछु ।

चुनाव लड्नु हुन्छ ?
डेफिनेट्ली । तर, म भर्खर पार्टीमा प्रवेश गरेको छु । सक्रिय राजनीतिमा आउनुको कारण यही हो । भोलि चुनाव हुँदा चुनाव लड्नेछु । र, मलाई विश्वास छ, नेपाली जनताले मलाई फिल्मकर्ममा जसरी साथ दिए, त्यसरी नै राजनीतिमा पनि साथ दिनेछन् । म देश र जनताको सेवा गर्न पाटीमा प्रवेश गरेको हुँ ।

अब तपाईंको फिल्मकारिता के हुन्छ ?
राजनीतिमा सक्रिय भए पनि फिल्मकारिता भने कहिल्यै छोड्ने छैन । आज म जे छु, सबै फिल्मकर्मको उपज हो । त्यसकारण कलाकारिता र राजनीतिलाई एकसाथ अघि बढाउँछु । फिल्म अभिनय र निर्माण जारी रहनेछ ।

No comments:

Post a Comment