पशुपतिनाथ मन्दिरको पूर्वी भाग भासिँदै

पशुपतिनाथ मन्दिर पूर्वी गेटतर्फको भाग भासिन थालेको छ। सात वर्ष पहिले सामान्य चिरिएजस्तो देखिन थालेका संरचनाहरु बढ्दै गएपछि अब खुट्किलाहरु बिस्तारै बागमतितर्फ सोहोरिन सुरु भएका छन्। यतिबेला पूर्वी गेटबाट मन्दिर प्रवेशका लागि रोक समेत लगाइएको छ।
'डेढ दुई वर्षदेखि भासिने क्रम बढ्न थालेपछि माथिल्लो तल्लामा विरामी राख्नै छाडेको थिएँ,' सिढी छेवैमा उपचार सेवा सञ्चालन गर्दै आएका घाटका चिकित्सक सुवर्ण वैद्य भन्छन्, 'पछिल्लो समयमा हस्पिटल पस्ने खुड्किलो दबिएको छ भने मुक्तिमण्डल मन्दिरको पर्खालमा पनि धाँजा फाटेको छ।' कुनै बेला पनि यहाँ दुर्घटना हुनसक्ने उनी बताउँछन्। वैद्यका अनुसार पशुपतिका पुजारीमाथि माओवादी आक्रमण भएकै बेलादेखि बन्द गरिएको ढोका अझै खोलिएको छैन।

पशुपति जिर्णोद्धारका निम्ति झण्डै २० वर्षदेखि अध्ययन हुँदै आएको हो। तर, सरकार परिर्वतन लगत्तै कोषको व्यवस्थापन परिवर्तन हुने भएकाले जिर्णोद्धारका कार्यक्रम अलपत्र पर्दै आएको छ। पछिल्लो पटक कोषले वरिष्ठ इन्जिनीयर तथा पुरातत्वविद शंकरनाथ रिमालको संयोजकत्वमा जिर्णोद्धार अध्यन समिति गठन गरेपनि काम अघि बढ्न सकेको छैन।
रिमालका अनुसार पशुपतिनाथको मुल मन्दिरमा चढाइएको जल बाग्मती नदि सम्म पुर्‍याउने बाटोमै ब्रह्मनाल राखिएको छ। त्यो ब्रह्मनालै जिर्ण भएपछि मन्दिरको भाग भाँसिदै गएको हो। 'जल बग्ने नाल मुसाहरुले बिगारेपछि त्यहीँबाट भत्कन सुरु भएको हो,' जिर्णोद्धार समितिका संयोजक रिमालले भने, 'मन्दिर पुर्वको गेट लगायत अधिकांश संरचनाको जिर्णोद्धार जरुरी भइसकेको छ।' उनका अनुसार त्यहाँको माटो खुकुलो हुँदै जाने र पानी चुहिदै जाने भएपछि मन्दिरको संरचना बिग्रन सुरु गरेको हो। रिमालका अनुसार मन्दिरको बाहिरी भागको झण्डै ५० वर्ष पहिले जिर्णोद्धार गरिएको थियो। पछिल्लो समय ०४६ सालदेखि मर्मत सम्भारका लागि विभिन्न अध्ययन भएपनि हालसम्म कुनै काम भएका छैनन्। उनले यस विषयमा अध्ययन पूरा हुन केही समय लाग्ने बताए। धार्मिक, सास्कृतिक, प्राविधीक क्षेत्रका विज्ञहरुले यसमा अध्ययन गरिरहेको उनको भनाई थियो। 'मन्दिरको अवस्था संवेदनशिल छ,' रिमालले नागरिकसंग भने 'सवै महत्वलाई जोगाएर काम गर्नुपर्ने भएकाले कोषले पनि पुर्ननिर्माणको महत्वका साथ कामलाई अघि बढाउनु पर्छ।'
ऐतिहासिक महत्वको सम्पदाको अवस्था जिर्ण भैसक्दा पनि सरकारले ध्यान नदिएको भन्दै कोषका कर्मचारीहरु तथा विज्ञले सरकारले यसको कामलाई प्राथमिकताका साथ अघि बढाउनुपर्ने बताउन थालेका छन्। कोषका पुर्व सदस्यसचिव तथा संस्कृतविद् गोविन्द टन्डन नियमित मर्मत सम्भारको अभावमा मन्दिर जिर्ण हुँदै गएको बताउँछन्।
धेरै पहिले त्यहाँको जिर्णोद्धार गर्नुपर्ने आवश्यकता थियो,' टन्डनले भने, ' विश्वसम्पदाको सुचिमा परेको क्षेत्रको अवस्थाले अर्न्तराष्ट्रिय स्तरमै नराम्रो प्रभाव पार्ने हुनाले पनि कोषले त्यसको काम लाई प्राथमिकता अनुसार अघि बढाउनुपर्छ।' टन्डनझैं कोषका अधिकारीहरुले समेत सरकारले यसको जिर्णोद्धारको कामलाई प्राथमिकता नदिएको बताएका छन्।
'राजनीतिक नियुक्तिले गर्दा स्थायी समाधान हुने खालका काम हुनै सकेका छैनन्,' कोषका एक अधिकारीले नागरिकसंग भने, 'कोषले आफुले खटाएको ठाउँमा कर्मचारीलाई काममा लगाउन समेत नसकेको बेला ठूलो निर्णय लिने अवस्थै छैन।'
मन्त्रालयले भने जिर्णोद्धारको जिम्मा कोषलाई नै पन्छाएको छ। संस्कृति मन्त्रालयका सचिव मोदराज डोटेल पशुपति क्षेत्र विकास कोष आफै स्वायत्त निकाय भएकाले विकास निर्माणको काम गर्ने अधिकार र बजेट उसैले गर्न सक्ने बताउँछन्।उनका अनुसार मन्दिर भासिदै गएपछि संस्कृती मन्त्री मिनेन्द्र रिजालले गत साता कोषका सदस्य सचिव शुशिल नाहटालाई निर्देशन दिइसकेका छन्। 'मन्त्रालयको तर्फबाट परिपत्र समेत भैसकेको छ,' डोटेलले भने, 'बजेट पनि पास भैसकेकोले उनीहरुले प्राथमिकताका साथ काम सम्पन्न गर्नुपर्छ।' उनले यस विषयमा प्राविधीकहरुसंग छलफल भैरहेको बताए।
कोषका सदस्य सचिवले भने आफु आएपछि जिर्णोद्धारको कामलाई प्राथमिकताका साथ अघि बढाएको दावी गरे। 'उच्चस्तरीय अध्ययन टोली बनेको छ,' नाहटाले भने 'केही महिनामा उनीहरुको प्रतिवेदन आएपछि प्राथमिकताका साथ कामलाई अघि बढाउछौं।'

No comments:

Post a Comment