लण्डन – हङकङबाट बेलायतमा बसाइँ सरी आएका नेपालीहरु यतिबेला हजारौको सङ्ख्यामा बेलायतभरी छरिएर बसेका छन् । सन् २००९मा हङकङबाट बेलायत आएका केहि व्यक्तिहरु मिलेर हङकङ नेपाली मञ्च यूके संस्था स्थापना गरेका थिए । तत्पश्चात प्रत्येक वर्ष एकै थलोमा भेला भएर मनोरञ्जनपूर्ण कार्यक्रमहरु गरेर साथीहरुसंग भेटघाट गर्छन् तथा एकले अर्कालाई मान सम्मान र सहयोग गर्ने एउटा चौतारी अनुरुप संस्थाले निरन्तरता दिँदै आएको छ । दशकौसम्म कुममा कुम जोडेर काम गरेका सम्झनाहरु तथा हङकङको परिवेशमा बिताएका सुखदपूर्ण क्षणहरुलाई सम्झना स्वरुप यो वार्षिक भेलाले खुशी दिने प्रयास रहेको छ । प्रत्येक वर्ष रमाइलो सांस्कृतिक कार्यक्रमको आयोजना गरिन्छ । यसवर्ष बेजिङस्टोक स्थित अल्डवोर्थ साईन्स कलेज, आरजी२२ ६एचएमा दिनांक ०३ मई २०१४, शनिवारको दिनमा दिनको एकबजे देखि राती दशबजेसम्म वार्षिक कार्यक्रम सम्पन्न गर्ने भएको छ । संस्थाका महासचिव भिम महेन्द्र गुरुङ तथा अध्यक्ष ओम गुरुङका अनुसार फार्नबारो स्यामुएलकोडी कम्यूनिटी सेन्टरमा तोकिएको समय भेनु उपलब्ध नभएको हुनाले तथा हलको भाडा पनि महँगो भएको कारणले गर्दा यस पटक पहिलो चोटि कार्यकारी समितिको निर्णयमा बेजिङ स्टोकमा सम्पन्न गर्ने भएको कुरा बताएका छन् । दूरी र यातायातको हिसाबले हेर्दा बेजिङस्टोक पनि बेलायतवासीका लागि सेन्टरमा नै पर्दछ । कार्यकारी समितिले सम्पूर्ण हङकङबाट आएका मित्रहरुलाई समयमा भेला भएर त्यसदिनको आनन्द लिने अनुरोध गरेको छ ।

No comments:
Post a Comment