काठमाडौं, २९ कात्तिक
साउदी राजकुमार अलवालिद विन तलालले नेपालमा हवाईसेवा, जलविद्युत्, पर्यटन, होटललगायतका क्षेत्रमा तत्कालै देखिनेगरी लगानी गर्ने बताएका छन् ।
'तत्कालै देखिनेगरी लगानी गर्ने मेरो इच्छा छ,' प्रधानमन्त्री माधवकुमार नेपालसँगको भेटमा राजकुमार तलालको भनाइ उद्धृत गर्दै प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार राजन भट्टराईले भने । राजकुमार तलालले तत्कालै काठमाडांैमा एक होटल खोल्ने प्रस्ताव गरेको पनि भट्टराईले जानकारी दिए ।
प्रधानमन्त्री नेपाल र साउदी राजकुमार तलालबीच सोमबार साँझ ६ बजे बालुवाटारमा भेट भएको थियो । भेटमा प्रधानमन्त्री नेपालले रोजगारीमा साउदी जाने नेपालीले भिसा लगाउन बंगलादेश जानुपर्ने बाध्यता रहेको जानकारी गराउँदै नेपालमा साउदी दूतावास खोल्न पहल गरिदिन तलालसँग आग्रह गरेका थिए । 'नेपालमा तत्कालै दूतावास नभए पनि महावाणिज्यदूतावास खोल्न साउदी सकारात्मक छ,' राजकुमार तलालले भेटमा भनेका थिए, 'यसबारे मैले साउदी विदेशमन्त्रीसँग कुराकानी गरिसकेको छु ।'यसअघि सोमबारै राजकुमार तलालले राष्ट्रपति डा. रामवरण यादवसँग शिष्टाचार भेट गरेका थिए । भेटमा द्विपक्षीय विषयका विविध विषयमा छलफल भएको राष्ट्रपति कार्यालयले जनाएको छ।राजकुमार तलाले सोमबारै उपप्रधान तथा परराष्ट्रमन्त्री सुजाता कोइराला, अर्थमन्त्री सुरेन्द्र पाण्डे, श्रममन्त्री मोहम्मद आफताव आलम, ऊर्जामन्त्री डा. प्रकाशशरण महत, सञ्चारमन्त्री शंकर पोखरेल, संस्कृतिमन्त्री मीनेन्द्र रिजालसँग पनि एकैसाथ होटल याक एन्ड यतीमा भेट गरेका थिए । भेटपछि सञ्चारकर्मीसँग तलालले नेपालमा हवाईसेवा र पर्यटनमा लगानी गर्न इच्छुक रहेको बताए । 'नेपाली कामदारलाई मात्रै नभएर साउदीमा रहेका समग्र कामदारलाई हामी सम्मान गछौर्ं,' उनले भने । भेटपछि उनको सम्मानमा मन्त्री कोइरालाले दिवाभोजको आयोजना गरेकी थिइन् । तलाल मंगलबार स्वदेश फर्किंदै छन् ।
तलाललाई विभूषण
काठमाडौं/ सरकारले साउदी अरेबियाका राजकुमार अलवालिद विन तलाललाई विशिष्ट विभूषणबाट सम्मानित गर्ने निर्णय गरेको छ ।
राजकुमार तलाल निजी भ्रमणमा रहेकै वेला सोमबार बसेको मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले उनलाई महाउज्ज्वल राष्ट्रदीप विभूषण प्रदान गर्ने निर्णय गरेको हो । विभूषण प्रदान गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय भएको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री शंकर पोखरेलले जानकारी दिए । उनले भने, 'नेपालको रोजगारी र आर्थिक विकासमा साउदी अरबले गरेको योगदानको कदर गर्दर्ै विभूषण प्रदान गर्न सिफारिस गरिएको हो ।'
त्यस्तै, तलाललाई पूर्वाञ्चल विश्वविद्यालयबाट कानुन विषयमा मानार्थ विद्यावारिधिको उपाधि पनि दिइने भएको छ । प्रधानमन्त्री माधवकुमार नेपालले राजकुमार तलाललाई पूर्वाञ्चल विश्वविद्यालयले कानुन विषयमा दिने मानार्थ विद्यावारिधि दिइने जानकारी गराएका हुन् ।
'अनौपचारिक भ्रमणमा राजकुमार आएको भए पनि साउदीले पुर्याएको सहयोगका कारण सरकारले दुई उपाधि दिन लागेको हो,' प्रधानमन्त्रीका सल्लाहकार राजन भट्टराईले भने । अर्कोपटक भ्रमणमा आउँदा राजकुमार तलाललाई राष्ट्रपति यादवले उल्लिखित २ पदकबाट विभूषित गर्नेछन् । उच्च सरकारी अधिकारीहरूसँगको भेटमा तलालले आगामी ३ महिनाभित्र नेपाल आउने जानकारी गराएका छन् ।

No comments:
Post a Comment